चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी | चैत २१, २०८१

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी:   रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ ।

 

परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ ।

 

मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ ।

 

त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए । यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उनले बताए ।

 

यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ ।

 

गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देशविदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यसपटक भूमेपूजा गरेको वडाअध्यक्ष थकप्रसाद पाइजाले बताए ।

 

“पहिले गाउँका स्थानीयले मात्र पूजा गर्थे, हाल यहाँको भूमेपूजामा हुने मौलिक र अनौठो संस्कृतिले छिमेकीगाउँ र आन्तरिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन् । देशविदेशमा पुगेका स्थानीयवासीसमेत भूमेपूजालाई ठूलो चाडका रूपमा मनाउन आएका छन्”, उनले भने ।

 

भूमेपूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ ।

 

छ्याङलाई भूमेपूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन रहेको छ । यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् ।

 

प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमेपूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् ।

 

भूमेपूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुनेगर्छ ।

 

भूमेपूजाका अवसरमा टोपानाच प्रदर्शन गरिन्छ । छेमाहरूले टोपानाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुख्र्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाअध्यक्ष पाइजाले जानकारी दिए ।

 

यस पटक भूमेपूजाका अवसरमा चिमखोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ ।

 

भूमेपूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देशविदेशमा छरिएकाहरू चिमखोलामा पुगेका छन् ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्